अहिले हाम्रो देश राजतन्त्रको अन्त्यपछि संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश
गरेको छ । साथै शान्तिपूर्ण तरिकाले राजतन्त्रको अन्त्यपछि शान्तिपूर्ण
जनक्रान्तिको चरण पनि सुरु भएको छ । परिवर्तित परिस्थितिअनुरूप पार्टीका कतिपय
नीति, विचार, सिद्धान्त परिवर्तित तथा विकसित भएका छन् । नेपाली जनता र भारतीय
जनताबीचको सम्बन्ध इतिहासभन्दा पहिलेको हो । यो सम्बन्ध ज्यादै मित्रतापूर्ण,
सौहार्दपूर्ण र घनिष्ट रहेको छ । भारतीय सरकारसँग भने नेपालको सम्बन्ध कहिले राम्रो
कहिले नराम्रो हुँदै आएको कटु सत्य हो । अहिले नेपाली पक्षले भारत सरकारबाट ठगिएको,
हेपिएको र असमान व्यवहार व्यहोर्नुपरेको महसुुस गरिरहेको छ । सन् १९५० र त्यसयताका
पनि सन्धि-सम्झौता असमान छन् भन्नेमा नेपाली जनता सचेत छन् । शदीयाँै मात्र होइन,
सहश्राब्दीयौँदेखि दुवै देशका जनताको बीचमा बन्द-व्यापार भइरहेको र धर्म-संस्कृतिको
आदान-प्रदान हुँदै आएको छ । यिनै परम्परा र सम्बन्धले गर्दा नेपालीहरूको उल्लेख्य
संख्या भारतका उत्पादन सुरक्षा र सेवाका क्षेत्रमा कार्यरत छ । जहाँ आफ्ना जनता
त्यहाँ पार्टी-काम स्वाभाविक भएको छ, त्यसैले कसै-कसैले नचाहेर पनि यस्ता
पार्टी-काम सम्पन्न हुँदै आएका छन् ।
नेपाली जनताले प्राचीन, अर्वाचीन र आधुनिक
भारत निर्माणमा मात्र होइन, भारतको सीमाको रक्षाका निम्ति पनि सीप, पसिना र रगत
बगाएका छन् । भारतको प्रत्येक वर्ग, इन्चको क्षेत्रमा नेपाली जनताको एक थोपा रगत र
एक मुठी पसिना पोखिएको छ भन्नुपर्दा अतिशयोक्ति हुने छैन । माक्र्सवादी दर्शनअनुसार
हरेक श्रमिकले ज्यालाबापत आफ्नै कमाइ प्राप्त गर्दछ, प्रवासी नेपालीले पनि यहाँबाट
आफ्नै कमाइ पाइरहेका छन् । नेपालमा माओवादी युद्ध भइरहेका वेला दिल्लीमा मात्र ६
लाख नेपाली युवा रोजगारीका लागि आएका छन् भन्ने सुनिएको थियो । अहिले सो संख्या कति
छ भन्न सक्दिनँ । भारतभरि कहिलेकाहीँ करिब एक करोड नेपाली रोजगारीका लागि आउँछन्
भन्ने पनि सुनिएको हो । तीन करोड जनसंख्यामा एक करोडको कुरा ज्यादै ठूलो संख्या
मान्नुपर्छ । यस्तो अवस्थामा जनता सँगसँगै हाम्रो पार्टी पनि आउने नै भयो । जहाँ
जनता त्यहाँ पार्टी भएपछि यसलाई अन्यथा लिनु भएन । जुन देशमा हामी बस्छाँै त्यहाँको
कानुन पालनामा एकदमै सचेत हुनुपर्छ । खासगरी हाम्रा प्रवासी कमरेडहरूले तीनवटा
क्षेत्रमा ध्यान दिनुपर्छ र काम पनि ती क्षेत्रमै केन्दि्रत गर्नुपर्छ । तीमध्ये
एउटा क्षेत्र हो भारत प्रवासमा रहेका सबै नेपालीको हकहितको रक्षा गर्ने, अर्को हो-
भारतीय श्रमजीवी जनतासँग घनिष्ट सम्बन्ध बनाउने र तेस्रो- नेपालमा सञ्चालन गरिने
आन्दोलन परिवर्तन विकास र निर्माणमा सहभागिता समर्थन र ऐक्यबद्धता जनाउने
।
भारतमा नेपाली जनता कलकारखानामा कष्टकर मजदुरी गर्ने, अपमानित भएर पनि घरेलु
कामदार हुने र कुल्ली दरवान र चौकीदार भएर काम गर्ने गर्छन् । एउटा नेपाली हिस्सा
भारतीय सेनामा पनि कार्यरत छ । अहिले आएर नेपालीको एउटा ज्यादै सानो हिस्सा
उद्योग-धन्दा र बन्द-व्यापारमा पनि लागेका छन् । यसको संख्या नगन्य नै रहेको छ । के
तपाइर्ंहरूले योजनाबद्ध रूपमा यी समुदायबीच कहिल्यै काम गर्नुभएको छ ? अहँ
गर्नुभएको छैन । तपाइर्ंहरू कमिटीमा पार्टीकेन्द्रका यस्ता र उस्ताबाहेक अरू छलफल
नै गर्नुहुन्न किन ? किनकि तपाईहरूले यहाँका नेपाली श्रमिकको ठोस समस्यालाई हल
गर्ने संगठित प्रयत्न कहिल्यै गर्नुभएको छैन । कामै नगरेपछि कसरी संगठन विस्तार हुन
सक्छ ? यस्तो अवस्थामा भएको पनि बिगँ्रदै जानेछ ।
अर्को कामको क्षेत्र हो,
भारतीय जनतासँग सु-सम्बन्ध विस्तार गर्ने । भारतका जनता र शासकसँगको सम्बन्धलाई
सगोलमा हेर्नुहुन्न । भारत औपचारिक लोकतान्त्रिक मुलुक हो । लोकतन्त्रका उदार
सिद्धान्त पनि यहाँ क्रियाशील छन् । औपचारिक लोकतन्त्रका घीनलाग्दा उदाहरण पनि यहाँ
पाउन सकिन्छ । तर, श्रमिकलाई संगठित गर्न र संगठित रूपमा आफ्ना अधिकारको एक हदसम्म
संुरक्षण गर्न तिनै उदार पक्षलाई प्रयोग गर्न सकिन्छ । भारत औद्योगिक मुलुक पनि
भएकाले ठूलो संख्यामा श्रमिकको उपस्थिति छ । सबै व्यवसाय र वर्ग तथा तहका जनता यहाँ
संगठित छन् । हामीले यिनै श्रमिक संगठन, यी संगठनका पक्षधर राजनीतिक पार्टी र अन्य
सामाजिक संघसंस्थामार्फत पनि आफ्नो सम्बन्ध सुदृढ गर्ने कोसिस गर्नुपर्छ । हामीले
अन्तर्राष्ट्रिय श्रमिक संगठनसँग पनि सम्बन्ध कायम गर्नुपर्छ । सबै संस्थासँग
सम्बन्ध कायम गरेर नेपाली श्रमिकको हक-हितको संरक्षण गर्न लागिपर्नुपर्छ
।
भारतीय जनतालाई नेपाली जनता राष्ट्रवादी किन छन् भन्नेबारे जानकारी दिन पनि
जरुरी छ । हामी आधुनिक संसारमा कहिल्यै पनि कुनै पनि उपनिवेशका दास भएनौँ । हाम्रो
देश इतिहासको कुनै पनि कालखण्डमा कसैको उपनिवेश भएन । हाम्रो स्वाभिमान उच्च छ ।
पुराना सन्धि-सम्झौताले पनि हामीलाई -यता उताका श्रमिकलाई) रोजगारीको खोजीमा भारत
आउन प्रेरित गरेको हो । तिनै आधारमा भारतबाट पनि नेपालमा लाखाँै व्यक्ति अनेक
व्यवसायमा संलग्न हुन जाने/आउने गर्छन् । राजनीतिक पार्टीसँग पनि हामीले आफ्ना
विचारका बारेमा चर्चा गर्नुपर्छ र हाम्रो स्वतन्त्रता, अखण्डता र सार्वभौमिकताप्रति
हाम्रो अगाध प्रेम र समर्पण छ भनेर जानकारी गराउनुपर्छ । यसो गरेर हामीले सबै
किसिमको सहयोगका लागि मित्र तयार गर्न सक्छौँ । सबै हाम्रा मित्र बन्न तयार
नहोलान्, तर हामीजस्तै संघसंस्था हाम्रा मित्र बन्नेछन् । यस दिशामा हामीले खासै
प्रयत्न गरेजस्तो लाग्दैन । मेरो विचारमा अब हामीले यतातिर पनि काम गर्न ध्यान
दिनैपर्छ । प्रवासी नेपालीबाहेक भारतीय नेपालीको पनि यहाँ ठूलो संख्या छ र भारतीय
नेपाली नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्बर्धन गर्न क्रियाशील
छन् । उनीहरूसँग पनि सम्बन्ध विकास गर्ने र प्रवासी नेपालीका हक-हितका पक्षमा आवाज
उठाउन प्रेरित गर्नुपर्छ । यो पनि महत्त्वपूर्ण काम हुनेछ ।
प्रवासी नेपालीका
तर्फबाट गरिने योगदानको तेस्रो क्षेत्र हो नेपालमा सञ्चालित जनताको आन्दोलन, त्यसको
निर्माण र विकासप्रति ऐक्यबद्धता, सहयोग र समर्थन । भारत प्रवासमा रहेर नेपालीले
ज्यादै ठुल्ठूला योगदान गरेका छन् । सन् १९४९ मा कमरेड पुष्पलालले नेपाल कम्युनिस्ट
पार्टी गठन गर्दा कोलकाताका प्रवासी नेपालीले ठूलो योगदान गरेका थिए । तत्कालीन
राणाशाही शासन रहेका बखत भारत प्रवासमा कम्युनिस्ट पार्टी मात्र होइन, पँुजीवादी
पार्टी नेपाली कांग्रेस पनि जन्मेको हो । त्यसवेला अंग्रेजको उपनिवेशबाट भारत
स्वतन्त्र भएको थियो । त्यो परिस्थितिलाई उपयोग गरेर नेपालका राजनीतिक पार्टीले
भारतमा आश्रय लिएका थिए र उनीहरूको सहयोगमा ती पार्टीका कतिपय कामलाई व्यवस्थित पनि
गरिएको थियो ।
२००७ सालको अधुरो क्रान्तिमा पनि भारतस्थित प्रवासी नेपालीले
उल्लेखनीय भूमिका खेलेका थिए । ०१७ सालपछि निरंकुश राजतन्त्रात्मक पञ्चायती
शासनकालमा पनि निर्वासित राजनीतिक पार्टीका नेता-कार्यकर्तालाई आश्रय दिने र सहयोग
गर्ने काममा यहाँका प्रवासी नेपालीको ठूलै योगदान रह्यो । प्रवासी नेपालीले संगठित
रूपमा योगदान भने ०२५ सालदेखि कमरेड एकदेव आलेको नेतृत्वमा प्रवासी नेपाली
कल्याणकारिणी समिति निर्माण भएपछि सुरु भएको हो । त्यसयताका सबै नेपाली जनताका
संघर्षमा कुनै न कुनै हिसाबले प्रवासी नेपालीको संलग्नता रहेको छ । ०४७ सालपछि त आम
निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउने उद्देश्य राखेर नेपाल जाने काम पवित्र
तीर्थयात्राजस्तै भयो । ०६२/६३ को ऐतिहासिक संयुक्त जनआन्दोलन सफल बनाउन प्रवासी
नेपालीको उल्लेख्य भूमिका रह्यो । त्यही आन्दोलनको पृष्ठभूमिमा नेपालमा दुई सय ४०
वर्षको शाहवंशीय राजतन्त्र उन्मूलन पनि भएको हो ।
अहिले हाम्रो देशमा
उथल-पुथलपूर्ण राजनीतिक घटनात्र mमबीच संघीय लोकतान्त्रिक गणतन्त्रको संक्रमणकाल
गुजँ्रदै छ । राजतन्त्र अन्त्य भए पनि सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद र वैदेशिक
हस्तक्षेप र शोषण अन्त्य भएको छैन । धेरै उज्ज्वल सम्भावना र कठिन चुनौतीका बीच
हाम्रो देश अगाडि बढ्दै छ । राजतन्त्रको अन्त्यसँगै हाम्रो समाज शान्तिपूर्ण
जनक्रान्तिको चरणमा प्रवेश गरेको छ । बुद्धिमतापूर्ण ढंगबाट अगाडि बढ्न सकियो भने
शान्तिपूर्ण रूपमा जनवादी क्रान्ति सम्पन्न गरी हाम्रो देश जनताको बहुदलीय जनवादको
उज्ज्वल भविष्यमा प्रवेश गर्ने पक्का छ । अहिले हाम्रो समाजकै सबभन्दा प्रमुख काम
आगामी पाँच महिनाभित्र नयाँ संविधान जारी गर्ने र माओवादी सेनाको टुंगो लगाएर दिगो
शान्ति प्राप्त गर्ने हो । हाम्रो पार्टीले पाँच कार्यभार अगाडि सारेको छ । तर,
केन्द्रीय कार्यभार भने नयाँ संविधान जारी गर्ने र शान्तिप्रक्रियाको टुंगो लगाउने
कुरा नै हो । त्यसो भएर भारत प्रवासमा रहेका सम्पूर्ण कमरेडले यही केन्द्रीय
कार्यभार पूरा गर्न आफ्नोतर्फबाट सक्दो योगदान गर्नुपर्छ । यो कार्यभार पूरा गर्न
पनि नेपाली कम्युनिस्ट आन्दोलनमा देखा परेका उग्रवामपन्थी अराजकतावाद र दक्षिणपन्थी
यथास्थितिवादका विरुद्ध संघर्ष तेज गर्न जरुरी छ । यसो गर्दै शान्तिपूर्ण
जनक्रान्ति सम्पन्न गर्न महत्त्वपूर्ण योगदान गर्न आह्वान पनि गर्दछु ।
No comments:
Post a Comment